गणेश मन्दिरः- वुढापाकाको भनाई अनुसार स्थानीय खड्का परिवारबाट (रामजी खड्काका वाजेले) करिव १२० वर्षअघि स्थापना भएको यो मन्दिर बाँसबारी चोकको पश्चिमपट्टी गणेशदेव मार्गमा रहेको छ । पठुवा चुट्ने गरेको ढुङ्गामा गणेशको सुँडको आकार बनेकोले त्यसै ढुंङ्गालाई मूर्तिको रुपमा प्रतिस्थापन गरी पूजा गरिने गरेको हो भन्ने किम्वदन्ती रहेको छ । विक्रम सम्वत् २०४२ सालमा का.म.पा. ३ वडाका तत्कालिन वडाध्यक्ष स्व. गजेन्द्र बहादुर के.सी. बाट जीर्णोद्धारको लागि केही आर्थिक सहयोग भई चुनदेवी सहयोग संस्था र वडा समितिको सहयोगमा संस्थाद्वारा मन्दिर प्राङगण मिलाई मन्दिर निर्माण गर्ने कार्य भएको थियो । यस मन्दिरमा बाँसबारी निवासी स्व.शम्भु सिग्देलज्यूबाट २०४६ सालमा गणेशको मूर्ति प्रतिस्थापन भएको र स्थानीय वासिन्दाबाट नित्य पूजाआजा हुंदै आएको छ । छानाहरु चुहिएको, मन्दिर परिसरका पर्खालहरु पनि भासिन गई जीर्णोद्धार गर्नु पर्ने भएको र जीर्णोद्धारको क्रममा मन्दिर कलात्मक रुपमा पूनःनिर्माण गर्नको लागि चुनदेवी सहयोगी संस्था र का.म.पा. ३ वडाका तत्कालिन वडाध्यक्ष श्री दिपक के.सी. संग छलफल हुँदा केही सहयोग वडा कार्यालयले समेत गर्ने निर्णयभई चुनदेवी सहयोगी संस्थाबाट वडा समिति र स्थानीय भक्तजनहरुको समेत सहयोग लिई कलात्मक रुपमा यस मन्दिर वि.स. २०५९ सालमा पुनः निर्माण गरिएको हो ।