समाजमा हरेक गाउँ, टोल र इकाईमा बसोवास गर्ने विविध जाति, धर्म, संस्कार र संस्कृति मान्ने जनसमुदाय आपसी सद्भावना र सहयोगमा आवद्ध हुँदै परस्पर सुख दुःखमा सहभागी हुने परम्परा धेरै पुरानो हो । यसै परम्परालाई जीवन्तता प्रदान गर्न सकेको कारण नै मानिसले आफूलाई सामाजिक प्राणिको रुपमा उभ्याउन सकेको हो । यस किसिमको परम्पराले अझ वढी विकसित हुने अवसर एकै किसिमका धर्म, संस्कार र संस्कृति मान्नेहरुको समाजले  पाएको हुन्छ । आपसी एकताको यो परम्परालाई बाँसबारी टोलका वासिन्दाले पनि धेरै पहिलेदेखि धानी आएको कुरा यहाँका भुक्तभोगी बुढापाकाहरुबाट सुन्न पाइन्छ । आज भन्दा करिव एकसय बीस पच्चीस वर्षअघिको अवस्थातिर फर्कने हो भने स्थानीय बाटो-घाटो, कुलो, निकास, पाटी पौवा, मठमन्दिर, धारा-कुवा जस्ता कुराहरु निर्माण तथा संरक्षण र टोलमा रहेका नदी, पोखरी, पर्ती, गौचर आदिको संरक्षण समेतमा जनसहभागिता जुट्ने गरेको पाइन्छ । यस्ता कार्यहरु थरी, अमाली, व्दारे जस्ता जिम्वेवार व्यक्तिव्दारा झारालगाई गराइने र त्यस्तो कार्यमा सहभागी नहुनेलाई जरिवाना समेत गर्ने गरिन्थ्यो भन्ने बुढापाकाहरुको भनाई छ । बाँसबारी क्षेत्रमा (चुनदेवी संस्था परिवार कै सेरोफेरो) जनस्तरमा संगठित रुपमा सामाजिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले मानिस मरेको घरको परिवारजनलाई रु. ३।- नगद र ३ माना चामल सहयोग दिनु पर्ने नियम (चलन) वि.स. २००८-९ सालतिर टोलबासीमा चलेको भए पनि यो १०-१२ वर्षभन्दा बढी कायम रहन नसकेको भन्ने भनाई सुन्न पाइन्छ । यस क्षेत्रमा टोल समाजको रक्षाको लागि वाषिर्क रुपमा संसारी देवी, चुनदेवी, गणेश, भैरव, कुमारी र शनिश्चरको टोलबासी मिलेर पूजा गर्ने चलन पनि निकै पुरानो हो । स्थानीय देवी देवता, चुनदेवी, गणेश, भैरव, कुमारी र शनिश्चरको टोलबासी मिलेर (वली समेत दिई) नियमित रुपमा पूजा गर्न थालेको भने २०१८ सालदेखि हो । यसरी अनौपचारिक रुपमा बनेका तत्कालिन संगठनले व्यवस्थित ढंगले काम गर्न नसक्नु र सदस्य संख्यामा घटबढ भै रहने भए पनि परम्पराको निरन्तरता कायम राख्नमा भने मद्दत नै पुगेकाे पाइन्छ । यसरी नै वस्तुभाउको रक्षाको लागि गाउँलेले गरी आएको आइतवारेपूजा भने (कुमारी पाठी भोग दिने) पछि आएर स्त्रीजाती वली दिने भएकोले अलि व्यवहारिक नहुने अर्थमा बन्द भएको भन्ने भनाई   छ ।

चुनदेवी सहयोगी संस्थाको जन्म
चुनदेवी सहयोगी संस्थाको जन्म विक्रम सम्वत् २०३५ साल मंसिर १२ गते बुधबार "समाज विकास कोष" को नामबाट भएको हो । स्थानीय बाँसबारी टोलका प्राय सम्पू व्यक्तिहरुको सामुहिक प्रयासमा स्थापना भएको यस संस्थाले समयको अन्तरालमा आज आएर विस्तारित रुपमा आफूलाई उभ्याउन सफल भएको छ । यही सफलताको प्रतिफल आज यस संस्थाको सदश्य संख्या १११ घर पुगेको छ । यसरी नै यस संस्थाले आफ्ना कार्यक्रमहरुमा व्यापकताल्याई सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, खेलकुद, आदि विविध क्षेत्रमा अग्रसरता बढाएको छ ।


यस संस्था स्थापनाको ऐतिहासिक पृष्ठभूमितर्फ फर्कने हो भने आर्थिक पक्षलाई नै अगाडि सार्नुपर्ने हुन आउँछ । प्राचीन समयदेखि नै आपसी सहयोग र सद्भावनामा अगाडि वढ्दै हरेक सामाजिक कार्यमा एक जुट हुँदै आएको यस टोलमा लाश उठाउन समेत आर्थिक रुपले असमर्थ हुनु परेको वास्तविकताको प्रतिफलनै यो संस्थाको जन्म भएको कटु सत्यलाई आज पनि विर्सन सकिन्न । यस अर्थमा आर्थिक पक्षलाई यो संस्था स्थापनाको मूल उद्देश्य मान्नु परेपनि वढ्दो शहरीकरणको प्रभाव तथा नयाँ र पुराना वासिन्दावीचको अन्तरसम्वन्धको अभावको स्थितिले पनि संस्था स्थापनामा वाध्यात्मकता सिर्जना गरेको पाइन्छ । आज आएर यस संस्थाले आफ्नो उमेरको वयस्कतासंगै धार्मिक, आर्थिक, सामाजिक, शैक्षिक आदि टोलका विविध समस्याहरुसंग जुद्दै परम्परा र युगीन आवश्यकतावीचको पूलको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । सधैं निश्चित सीमाभित्र मात्र बाँधिएर वस्न नसक्ने मानवीय प्रवृत्तिको प्रतिफल आज आएर स्थापनाको लामो अन्तरालमा यस संस्थाले आफ्ना विविध क्रियाकलापहरुबाट टोल र समाजको लागि केही गर्न सक्ने विश्वास दिलाउन सक्ने भएको छ ।

वास्तवमा आजको युग संगठीत मान्छेको युग हो । एक हातले ताली बज्दैन भने झै एक्लै कसैले पनि केही गर्न सक्तैन । यसै वास्तविकतालाई अंगिकार गरि टोल र समाजका हरेक क्षेत्रको विकासमा संस्थागत रुपमा केही गर्ने तथा परम्पराको संरक्षण सम्वर्धन संगै आधुनिक समाजको माग अनुरुप अघिवढ्ने नै यस संस्था स्थापनाको मूल उद्देश्य रहेको छ । यसरी परम्पराको संरक्षण र वर्तमान आवश्यकताको पूर्ति गर्ने अभीष्ट नै यस संस्था स्थापनाको पृष्ठभूमि बन्न पुगेको कुरालाई आजसम्मका क्रियाकलापले छर्लङ पारेको छ ।