चाणक्यका केही नीतिहरु
-
पछाडि हुँदा काम बिगार्ने, अगाडि पर्दा मिठो बोल्ने, त्यस्ता मित्रसँग सधै होसियार रहनु पर्दछ ।
-
ठूलो कुलमा जन्म भएको होस्, रुप र यौवनले सम्पन्न होस् तापनि विद्याविहिन छ भने सुवास नभएको पलासको फूल झै शोभाहीन हुन्छ ।
-
अति सुन्दरी हुनाले सीता हरिइन, धेरै घमण्ड गर्नाले रावण मारियो, अति दान गर्नाले बली बाँधिए त्यस कारण अति गर्नु हुदैन ।
-
दानले दरिद्रता, शील स्वभावले दुर्गति, बुद्धिले अज्ञान र भक्तिले भयको नाश गर्दछ ।
-
विदेशमा विद्या मित्र, घरमा स्त्री मित्र, रोगीको औषधी मित्र र मरेपछिको मित्र धर्म हो ।
-
राजाकी स्त्री (रानी), गुरुपत्नी, मित्रपत्नी, सासू र आफूलाई जन्मदिने यी पाँचलाई माता भनिन्छ ।
-
ऋृणमा डुबाउने पिता, व्यभिचारिणी माता, सुन्दरी स्त्री र मूर्ख छोरो शत्रु हो ।
-
थोरै खानु, थोरैले सन्तुष्ट हुनु, गहिरो निन्द्रा पर्नु, छिटो बिउँझनु, मालिक प्रति भक्ति र शूरोपन हुनु, यी छ गुण कुकुरबाट सिक्नु ।
-
धनको नाश भएको, मनको चिन्ता, आफ्नो घरका नराम्रा कुराहरु, ठगिएको र स्वयं अपमानित भएको कुराहरु बुद्धिमान मानिसहरुले प्रकाशमा ल्याउनु हुँदैन ।
-
अजिर्णमा (अपचमा) पानी औषधी हो, पाच्य बेलामा पानी बल हो, भोजनका साथ पानी अमृत हो, खानापछि (लगत्तै) पानी विष हो ।
-
क्रोध यमराज हो, तृष्णा बैतरणी नदी हो, विद्या कामधेनु गाई हो, सन्तोष स्वर्गको बगैचा हो
-
धन रहित व्यक्ति एकदिन धनी बन्न सक्दछ र त्यसलाई धनहीन भन्न मिल्दैन तर विद्या रत्नले जो हीन व्यक्ति छ त्यो नै सम्पूर्णमा हीन भएको मान्न सकिन्छ ।
-
कथा प्रवचनको बेलामा, श्मशानमा, रोग लागेको अवस्थामा जो बुद्धि पैदा हुन्छ त्यो स्थिर रहने हो भने संसारिक बन्धनबाट मुक्त हुन्छ ।
-
जल र अन्न जस्तो दान, द्वादशी जस्तो तिथी, गायत्री जस्तो मन्त्र र आमा जस्तो देवता केही हुँदैन ।
-
निर्गुणीको सुन्दरता व्यर्थ छ, शील हीनको कुल निन्दित हुन्छ, सिद्धिबिनाको विद्या र भोग बिनाको धन पनि व्यर्थ छ ।
- मनमा छलकपट नभएका सच्चा मानिसहरु रिसाउने स्वभावका हुन्छन् । तर गलत प्रवृत्तिका मान्छेहरु निकै प्रशंसनीय चिप्लाकुरा गरेर आफ्नो बसमा पार्ने प्रयास गर्छन् ।